काठमाडौं । हलमा प्रदर्शनरत फिल्म ‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक भएको छ । बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य पात्र काजी (दयाहाङ राई) को ‘कबड्डी ५’ सम्मको यात्राका दौरान उनको चरित्रका भावनात्मक उतारचढाव, अन्तर्विरोध र मानवीय संवेदनालाई समेटिएको छ । गीतले बाहिरबाट जिद्दी र अप्रत्याशित स्वभावका देखिने काजीको भित्री मनमा लुकेका भावना र संवेदनालाई उजागर गरेको छ ।
गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीतमा बनेको यो गीतमा गितार तथा अर्गनमा आशिष चित्रकार, ड्रम्समा सरिन बज्राचार्य र बास गितारमा कृष्ण लिम्बूले साथ दिएका छन् ।
अमूल्य श्रेष्ठले अडियोसक स्टुडियोमा गीतको रेकर्डिङ गरेका हुन् भने बिजु कर्माचार्यले रेकर्ड प्रोड्युसरका रूपमा काम गरेका छन् । गीतको अडियो मिक्सिङ रिकेश गुरुङले गरेका हुन् ।
निर्देशक रामबाबु गुरुङकै कथा लेखन र निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।
फिल्मका निर्माता निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् ।






