काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गरेको बिग मुभिजले फिल्म हललाई रिनोभेसन गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको हो ।
रिनोभेसनका क्रममा कम्पनीले हलको प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता सबै पक्षमा अन्तर्राष्ट्रियस्तर कायम गरेको छ । बिग मुभिजले स्टेट अफ द आर्ट दृश्य प्रविधि बारको ४ के आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ । कम्पनीले युरोपेली ब्रान्डको बारको एसपी ४ के–२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१,००० ल्युमेन्सको ब्राइटनेस र ४ के (४०९६एक्स२१६०) को नेटिभ रिजोलेसन रहेको छ ।
फिल्मका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८ दशमलब५ प्रतिशतभन्दा बढी रेस २०२० र डीसीआईए३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ । साउन्ड सिस्टमतर्फ थ्री–डी इमर्सिभ साउन्ड सिस्टम (डल्बी एटमस ६४–च्यानल सिस्टम जडान गरिएको छ । परम्परागत साउन्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४–च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ ।
हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङको व्यवस्था गरी पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले बताए ।







