लोकलयमा चिरञ्जीवी भवःको जाले रुमाल

काठमाडौं । फिल्म ‘चिरञ्जीवी भवः’को पहिलो गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गीतमा फिल्मका निर्देशक दीपकप्रसाद आचार्यको शब्द, रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर तथा बाबुलकै संगीत छ ।

लोकलयमा आधारित डान्सिङ नम्बरको गीतमा रुपका कारण एकअर्काप्रति आकर्षित भएका युवक र युवतीले आफ्नो सौन्दर्यलाई मायाको सुरुवाती बिन्दू मानेका छन् । सवाल–जवाफ समेत रहेको गीतको भिडियोमा विवाहको सेटअप छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारले गरेको रमाइलो गीतमा छ ।

फिल्ममा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । हरिवंश ‘चिरञ्जीवी बाजे’को क्यारेक्टरमा देखिँदैछन् । अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।

माघ १ गतेबाट रिलिज हुने फिल्म जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो । फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले फिल्म निर्माण गरेका छन् । कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्ममा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।