काठमाडौं । तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘तिलस्मी’को पोस्टर सार्वजनिक भएको छ । सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मको पोस्टरमा कलाकारहरू जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् । तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले फिल्मको विषयवस्तु झल्काएको छ ।
आगामी पुस २४ गतेबाट प्रदर्शन हुने फिल्ममा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन् । गीतकार समेत रहेकी उनको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा पटकथा तथा संवाद बाबुराम निरौलाको छ भने संगीत सुमन केसी र किरण कँडेलको छ ।
त्यस्तै छायांकन बिनोद बल, ध्वनि डिजाइन अमित श्रेष्ठ, प्रमुख सहायक निर्देशन इलियास शेख, सहायक निर्देशक अनुजा अधिकारी, प्रोडक्सन म्यानेजर मनिष डीके र सुवास राई रहेका छन् । फिल्मको ब्याकग्राउन्ड स्कोर पार्किष गिरी र अमित श्रेष्ठले तयार पारेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् ।
पारिवारिक कथावस्तुमा आधारित फिल्ममा राजीव समरको कोरियोग्राफी, राजेन्द्र मोक्क्तानको कलर संयोजन रहेको छ । फिल्मको वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्दैछन् ।







