काठमाडौं । निर्देशक सरोज पौडेल निर्देशित फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले विहीबार एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा एक जोडीको प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरुको प्रेमले भोग्ने नियतिको कथा फिल्मले बोल्ने देखाइएको छ ।ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् ।
फिल्म मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् ।
फिल्ममा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको पनि अभिनय छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।
फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ भने बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।







