प्रचण्डकी नातिनीको गीतमा कार्टुन्ज क्रुज

काठमाडौं । गायक सरोज ओली र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत ‘पानी कुवाको’ को भिडियो सार्वजनिक भएको छ । स्मिता पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । भिडियोमा कार्टुन्ज क्रुसँगै नायिका प्रियंका कार्कीले पनि फिचरिङ गरेका छन् ।

भिडियोमा कार्टुन्ज क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा सजिएका छन् । क्रुकी प्रमुख सदस्य आश्मा विश्वकर्मा गुन्यू चोलीमा देखिएकी छिन् भने सरोज अधिकारीलगायत पुरुष सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । भिडियोमा नायिका प्रियंकाको केमियो भूमिका छ ।

दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाको संगीत छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी, सौरभ लामाको छायांकन, उदयराज पौडेलको एरेन्ज, उज्वल श्रेयान महतको मिक्सिङ र अर्जुन जिसीको सम्पादन छ ।