नेपाली बालबालिकालाई थाइल्याण्डमा उपाधि

काठमाडौं । थाईल्याण्डको बैंककमा यसै साता भएको बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एशिया प्यासिफिक प्रिन्स एन्ड प्रिन्सेस–२०१८’मा नेपाली प्रतियोगी युनिक पराजुलीले ‘एशिया प्यासिफिक जुनियर प्रिन्स २०१८’को उपाधि जितेका छन् । उनले एशियाका ३५ देशका बालबालिकालाई पछि पार्दै यो उपाधि जितेका हुन् । राजर्षी स्कुल काठमाडौंमा कक्षा ४ मा अध्ययनरत युनिकले गत वर्ष नेपालमा भएको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस’मा शीर्ष उपाधि जितेका थिए ।

प्रतियोगितामा ‘सिनियर प्रिन्स’तर्फ १३ वर्षीय प्रनिश खड्का ‘सेकेन्ड रनरअप’ भए । इभेन्ट बेटर ग्यालेक्सीले राजधानीमा आयोजना गरेको ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८’ मा प्रनिश सिनियरतर्फका विजेता बनेका थिए ।

थाईल्याण्डको फुकेटमा गत जुलाई ६ मा भएको अर्को अन्तर्राष्ट्रिय बालबालिकाको प्रतियोगिता ‘इन्टरनेशनल किड्स अफ द इयर–२०१८’ मा ग्यालेक्सी स्कुल ज्ञानेश्वर, काठमाडौंकी कक्षा ३ मा अध्ययनरत ८ वर्षिया बालिका रिब्या तण्डुकारले ‘सेकेन्ड रनर अप’को उपाधि उचालेकी थिइन् । ‘इन्टरनेशनल किड्स अफ द इयर–२०१८’ मा ‘सिनियर’तर्फ पलिस्ता महर्जन ‘सेकेन्ड रनरअप’ भईन् । ११ वर्षीया पलिस्ता ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८’मा ‘सिनियर’तर्फकी विजेता हुन् ।

बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारले आफ्नो कार्यक्रम ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस २०१८’बाट बाल प्रतिभाका रुपमा आएकी बालबालिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा अवार्ड जित्दा खुशी लागेको बताए ।