काठमाडौँ । दशक अघिदेखि गजल लेखनमा सक्रिय गजलकार संजिता देउजाको प्रथम गजल एल्वम ‘मेरो गजल तिम्रो लागि’ मंगलबार सार्वजनिक भएको छ । डा.कृष्णहरि बराल, उन्नति बोहरा ‘शीला’, गजलकार ज्ञानुवाकर पौडेल, मेरिना स्मृति र संजिता देउजाले एल्बम सार्वजनिक गरे ।
कार्यक्रममा प्राज्ञ तथा गीतकार उन्नति बोहरा शीलाले गजलमाथि चर्चा गर्दै सुनौलो भविश्व बोकेकी संजिताका गजल नेपाली संगीतको क्षेत्रमा एउटा चम्किलो तारा भएको बताइन् । ज्ञानुवाकर पौडेलले संजिताका गजलमा कविता र गीत पनि पाइने गरेको बताए । डा. कृष्णहरि बरालले एल्वममाथि चर्चा गर्दै नेपाली गजल संगीतमा मेरो गजल तिम्रो लागि उत्कृष्ट संकलनका रुपमा आएको बताए ।
उनले गीत संगीत लोकप्रिय हुन स्वर, संगीत, एरेन्ज, भिडियो भन्दा पनि गीत, गजल नै शब्द संरचना र लयका हिसावले उत्कृष्ट हुनुपर्ने बताए । गजलकार संजिता देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार शुशीला देउजाले स्वागत गरेकी थिइन् ।
एल्वममा विभिन्न समयमा लेखिएका संजिताका आठ गजल संग्रहित छन् । एल्वममा सत्यराज आचार्य, स्वरुपराज आचार्य र दीपक थापाको स्वर रहेको छ । सत्य स्वरुपको संगीत रहेको एल्वममा तिम्रो लागि…, छ अझै…, जवाव यौटा…, दैवको हातमा…, कुनै बेला म…, एक मानिस…, किन ?..र अनुरोध…बोलका गजल रहेका छन् । एल्वममा तीन तीन गजल सत्य स्वरुप तथा दुई गजल दीपक थापाले गाएका छन् ।