रोजी म्युजिकल्ली विजेतालाई एक लाख

काठमाडौं । फिल्म प्रमोसनका लागि निर्माताले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । फिल्म ‘रोजी’ले आफ्नो गीत ‘फूल हैन’माथि म्युजिकल्ली प्रतियोगिता आयोजना गरेको छ ।  प्रतियोगीले युट्युवमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्नेछन् । रोजी निर्माण कम्पनीद्वय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले प्रतियोगिताको घोषणा गरेको हो ।

संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन् । थापाले अहिले पनि इन्स्टाग्राम र फेसबुकबाट भिडियो प्राप्त भैरहेको बताइन् ।  विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने भएको छ । साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ ।

सर्वोत्कृष्टलाई नगद १ लाखले पुरस्कृत गरिनेछ । गोपिकृष्ण मूभिजको युट्युव च्यानलमा समेत भिडियो पोस्ट हुने भएकाले भ्युअर्जका आधारमा उत्कृष्ट तय गरिने संयोजकले थापाले जानकारी दिइन् ।  एलिस कार्कीद्धारा संगीतबद्ध, प्रविशा अधिकारी र प्रताप दासको स्वर समावेश फूल हैनलाई निकै रुचाइएको छ । नीरक पौडेल निर्देशित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा रिलिज तयारीमा छ । प्रदीप खड्का, मिरुना मगर र परमिता राणा मुख्य भूमिकामा छन् ।