काठमाडौं । नेपाली फिल्मका अहिलेका हटकेक नायक प्रदिप खड्कालाई अदालतले आजीवन कारावासको सजायको आदेश दिएको छ । एक युवतीको हत्याको आरोपमा उनलाई अदालतले जेल सजाय सुनाएको हो । तर उनको यो जेल सजाय केबल फिल्म ‘रोज’ भित्र मात्र छ ।
फिल्मको बिहीबार सार्वजनिक ट्रेलरमा प्रदिपलाई जेल सजाय सुनाइएको छ । उनले किन युवतीको हत्या गरिन् भन्ने थाहा पाउन चाहिँ दर्शकले भदौ २२ गते फिल्म हल नै पुग्नुपर्ने हुन्छ । २ मिनेट १७ सेकेन्डको ट्रेलरमा प्रेम, धोका र बदलाको कथालाई देखाइएको छ । फिल्म ‘रोजी’बाट ‘रोज’मा बदलिएको फिल्म प्रतिक्षित फिल्ममा प्रदिपको भिन्न चरित्र दर्शकले हेर्न पाउनेछन् ।
ट्रेलरमा प्रदीपले प्रेमिका परमिता राणालाई मारेको देखाइएको छ । मिरुना मगरलाई वकिलको भूमिकामा देख्न सकिन्छ । उनी अभि अर्थात (प्रदीप)को कानुनी रक्षामा खडा हुन्छिन् । कर्मा एक प्रहरी अफिसर छन् जसको ड्युटी हत्याको अनुसन्धान गर्नु हो ।
निर्देशक निरक पौडेलले फिल्मसँगै वास्तविक जीवनमै हत्या गरिएकी काठमाडौंकी रोजी महर्जन हत्याकाण्ड र फिल्मबीच कुनै सम्बन्ध नरहेको बताए । नायक प्रदिपले फिल्मको कन्टेन्टमा सशक्तता रहेको बताउँदै आफू भिन्न भूमिकामा देखिएको बताए । गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म भदौ १४ गतेदेखि देशव्यापी प्रवद्र्धनमा निस्कँदैछ ।