धरान । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘रोज’को प्रमोसनका लागि देश दौडाहामा परेका नायक प्रदिप खड्काले इटहरी र धरानका युवतीलाई प्रेमको प्रतिक गुलाब बाँडेका छन् । फिल्मको प्रमोसनका लागि नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले र नवगायिका प्रज्ञा श्रेष्ठसँगको टोलीमा पूर्वमा रहेका प्रदिपले गुलाब बाँडेका हुन् ।
इटहरीपछि धरानको भानुचोकमा आयोजित कन्सर्टमा प्रदिपलाई हेर्न र भेट्न आएका युवतीलाई प्रदीपले स्टेजबाटै गुलाबको फूल, फिल्मको नाम लेखिएको टिसर्ट बाँडेका थिए । प्रदीपले अन्य स्थानका कन्सर्टभन्दा इटहरी र धरानमा अझ धेरै दर्शकको साथ मिलेको बताए ।
‘म यो भन्दा अघिका फिल्ममा पनि यसैगरी कन्सर्टका लागि आएको थिए । त्यतिखेर पनि दर्शकले निकै ठुलो साथ दिनुभएको थियो, आजपनि त्यो भन्दा ठुलो साथ पाएँ’ प्रदीपले भने । यस्तै उनले थुप्रै फ्यानहरुसँग तस्बिर खिचाएका थिए ।
मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’लेखेको पोष्टर लिएर उनलाई भेट्न आएका थिए । मिरुनाले धरानको स्टेजबाट म धरानकी चेली भनिरहँदा धरानबासीको हुटिङ खुबै सुनिन्थ्यो । गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले फिल्म ‘रोज’को ‘फूल हैन’बोलको गीत गाउँदा दर्शक नाँचेका थिए ।
फिल्मका निर्माण नियन्त्रक बुद्धिलाल मगरका अनुसार काठमाडौंमा मंगलबार दुईठाउँमा कन्सर्ट गरेसँगै देशब्यापी कन्सर्ट सकिनेछ । उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेलले फिल्म निर्देशन गरेका हुन् ।