‘लभ स्टेसनलाई प्रदीप र जसिता सुहाउँदिला जोडी’

काठमाडौं । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको रोमान्सलाई प्रस्तुत गरिने फिल्म ‘लभ स्टेसन’को मुहुर्त गरिएको छ । फिल्मको सोमबार विहान पशुपति मन्दिरमा मुहुर्त गरिएको हो । उज्जवल घिमिरेको निर्देशन रहने फिल्मको छायांकन शुक्रबारदेखि भारतको दार्जिलिङबाट सुरु हुनेछ ।

निर्देशक घिमिरेले फिल्मको नाम स्थान विशेष ठाउँ रहेकोले राखिएको बताए । ‘फिल्मको कथामा प्रदीप र जसिताको जोडी खुब सुहाउँछ । प्रदीप र जसिताले राम्रो काम गर्छन् भन्नेमा म विश्वस्त छु ।’ उनले भने । गोविन्द शाही प्रस्तुतकर्ता रहेको फिल्ममा मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, प्रकाश शाह, सरोज खनाललगायतका कलाकारको अभिनय रहनेछ । फिल्म भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किमसँगै नेपालको इलाम र फिक्कलमा खिचिनेछ ।

नायक प्रदीपले फिल्म पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतका फिल्म भन्दा केही पृथक बन्ने बताए । प्रस्तुतकर्ता शाहीले अघिल्लो फिल्म ‘लिली बिली’ निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई फिल्म निर्माण गर्ने सम्झौता भए बमोजिम लभ स्टेशनमा पनि यी दुईलाई जोडीको रुपमा लिएको शाहीले बताए । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।