फरक फेशनमा नमूना कलेजको ग्राजुएसन

काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरुले गत आइतबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा ‘अभूतपूर्व परिकल्पना’ शीर्षकमा आफ्ना डिजाइन प्रस्तुत गरेका छन् । परिकल्पना शीर्षकअन्तर्गतका २१ वटा पहिरनहरूमा विद्यार्थी डिजाइनरहरूले पहिरन प्रस्तुत गरेका थिए ।

८४ जना विद्यार्थी डिजाइनहरुको २१ वटा समूहले प्रस्तुत गरेको पहिरन विज्ञान प्रविधि, जीवजन्तुको म्युटेसन, अनलाइन गेम्स, मानव र अन्य जीवको म्युटेसन, संगीत, रोबट, स्पेश सीप आदि प्रभावित थिए । सोही अनुरुप भविष्यको परिकल्पना गरिएका पहिरन रुपी आकृतिहरुमा पुच्छर, सिङ, पखेटा अदिको समायोजन पनि थियो । कपडा बाहेक विभिन्न घरायसी तथा व्यवसायिक परिवेशमा प्रयोग हुने विभिन्न सर सामाग्रीको समायोजन पनि ती पहिरनहरुको विशेषता थियो ।

फेसन डिजाइनिङ पढाई अन्तर्गतको तीन वर्षे स्नातक तह पूरा गर्ने क्रममा चौधौं ब्याचका ८४ जना विद्यार्थी डिजाइनहरुले रोजिन शाक्यको कोरियोग्राफी एवम् निर्देशनमा पहिरन प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक विविधता र जातिय पहिचानको चिनारी बोक्ने पहिरन लिम्बु, तामाङ, शेर्पा, थकाली, नेवार, सुनुवार, थारु लगायतका जातिएका झल्किने पहिरन प्रदर्शन गरिएको थियो । डिजाइनरहरुले जुट, हेम्प, अल्लो, ब्याम्बु जस्ता नेचुुरल फ्याब्रिक प्रयोग गरिएका पहिरनहरुलाई २४ युवती तथा दश युवा मोडलहरुको सहयोगमा ¥याम्पमा प्रदर्शन गरेका थिए ।

ड्रामाटिक ग्ल्याम शीर्षक अन्तर्गत सुन्तला, प्याजी, पहेंलो, नीलो, सिल्भर जस्ता रंगहरुको प्रधानता रहेको साटन, नेट सिफन जस्ता फ्याब्रिकका खेलिएका लङ ड्रामाटिक गाउनहरु प्रदर्शन गरिएका थिए । यसैगरी पप आर्ट अवधारणामा तयार पारिएका रंगी विरंगी पहिरनहरु पनि कार्यक्रमको आकर्षण रह्यो भने पेस्टल कलरको प्रधानता रहेको विभिन्न स्लीव्स तथा स्लिट्सको प्रधानता रहेका शुद, लेदर, सिन्थेटिक, भेल्भेट आदि फ्याब्रिकमा तयार पारिएका पहिरनहरुले पनि ¥याम्पमा ओहोर दोहोर गरेको थियो ।