काठमाडौं । अभिनेता सरोज खनाल अभिनय सिक्ने सिकाउने अभियानमा जुटेका छन् । अभिनयमा दक्ष युवा जनशक्ति उत्पादन गर्न राजधानीको दरबारमार्गमा शनिवारबाट उनको पहलमा माला आर्टस् एकेडेमी सञ्चालनमा आएपछि यो अभियानमा उनी सक्रिय भएर लागेका हुन् । एकेडेमी मंसिर १६ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आउनेछ ।
एकेडेमीका प्रबन्ध निर्देशक रहेका खनालले एक वर्ष अघि नै एकेडेमीको सोच आए पनि अहिले आएर पुरा भएको बताए । ‘म आफै पनि अभिनय कक्षा कसरी लिने भनेर सिकिरहेको छु । त्यसकारण यो समय मेरा लागि सिक्ने र सिकाउने समय हो ।’ सरोजले भने । उनका अनुसार एकेडेमीमा बिहान र बेलुका दुई सिफ्ट गरी जम्मा ३० जना विद्यार्थीले अध्ययन गर्नेछन् ।
एकेडेमीमा चन्द्रमाला खनाल अध्यक्ष, सूर्यमाला खनाल सहध्यक्ष र वीरेन्द्र हमाल अभिनयको प्रमुख रहेका छन् । हरिहर शर्मा, नीर शाह, विप्लव प्रतिक र कृष्ण धराबासी सल्लाहकार रहेको एकेडेमीमा गौरी मल्ल्, दिनेश अधिकारी, सौगात मल्ल, प्रशान्त ताम्राकार, विकासराज आचार्य, दिवाकर भट्टराई, न्ह्यु बज्राचार्य र पुरुषोत्तम प्रधान गेष्ट स्पिकर छन् ।