मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चन, आमिर खान र अभिनेत्री कटरीना कैफ स्टारर फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बलिउडजगतमा यो वर्षको सबैभन्दा ठूलो त्रासदीयुक्त फिल्म बन्यो । करिब ३ सय करोडको बजेटमा निर्माण भएको फिल्मले निर्मातासहित कलाकार, निर्देशक र प्रदर्शकलाई केही फाइदा दिएन । फिल्मका उप–वितरकलाई मात्र यो फिल्म फाइदासिद्ध भयो ।
समाचार अनुसार यो फिल्मबाट प्रदर्शकले सलमान खान अभिनित फिल्म ‘ट्यूबलाइट’ भन्दा धेरै नोक्सानी व्यहोर्नु परेको छ । सलमानको फिल्म बक्स अफिसमा नराम्रो किसिमले फ्लप भएको थियो । उसबेला सलमानको फिल्मले मानसिक त्रास र तनाव झेलेका वितरक अहिले आमिर र अमिताभ अभिनित फिल्मको त्यस्तै त्रासमा छन् । कतिपय प्रदर्शकहरु अहिले डिप्रेसनमा पनि परिसकेका छन् ।
‘हामीले ट्युबलाईटमा पनि यस्तै किसिमले पैसाको घाटा व्यहोरेका थियौं । तर सलमान खानले हाम्रो लगानी भएको पैसा फिर्ता गरिदिएका थिए । अब हामी रिफन्डको दाबी गर्नका लागि आफ्नो क्षेत्रको वितरकसँग सम्पर्क गर्ने योजना बनाइरहेका छौं । किनकी हामीलाई थाहा छ कि उनीहरुले एमजी अर्थात मिनिमम ग्यारेन्टीको सम्झौताले गर्दा यो फिल्मबाट प्रशस्त पैसा कमाएका छन् । हामी आशावादी छौं कि हाम्रो सन्देश आमिर खान र यशराज फिल्मससम्म पुग्नेछ । जो हामीलाई वितरकबाट पैसा फिर्ता गराउन मद्दत गर्नेछन् ।’ एक प्रदर्शकले भनेका छन् ।
एक व्यापार विश्लेषकका अनुसार यो मामला ‘ट्यूबलाइट’ र ‘जब हैरी मेट सेजल’ जस्ता फिल्मभन्दा अलग छन् किनकी ती दुई फिल्मबाट निर्माताले धेरै मुनाफा कमाएका थिए । तर ‘ठग्स अफ हिन्दोस्तान’को मामलामा यो फिल्मका निर्माताले पनि पैसा राम्रो लगानी गरेका छन् । उनीहरु घाटामा भए पनि फिल्मका उपवितरक भने नाफामा छन् । जबकी देशभरका प्रदर्शकले आफ्नो लगानीको करिब ५० देखि ६० प्रतिशत रकम गुमाएका छन् । यसमा निर्माता कम्पनी यशराज फिल्मस्ले पनि राम्रो पैसा गुमाएको छ । यदि यो फिल्मले चीनमा राम्रो व्यापार गर्न सकेमा मात्र कमाईको मामलामा केही मद्दत पुग्नेछ ।
समिक्षकको आलोचनाको शिकार भएको यो फिल्मले प्रदर्शनको तीन सातामा १ सय ४० करोड रुपैंयाँको कारोबार गरेको छ । यो फिल्मले रिलिज अघि डिजिटल राइट्स एक सय ५० करोडमा बेचिसकेको छ ।