प्रेम झल्काउने जानी नजानी फष्टलुक

काठमाडौं । आगामी चैत १ गतेबाट देशव्यापी रिलिज गरिने चलचित्र ‘जानी नजानी’ को फास्टक लुक्सको रुपमा सोमबार पोष्टर रिलिज गरिएको छ । फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार पारेको हो ।  सार्वजनिक पोष्टरमा फिल्मका लिड कलाकारहरु मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ समेटिएका छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा केही समय बलिउडमा काम गरेपश्चात यसै फिल्म मार्फत नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको अभिनय छ ।

आधुनिक प्रेम कथामा आधारित भनिएको जानी नजानीमा कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । यसै फिल्म मार्फत धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका बसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन ।

फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज, प्रविण सिंह र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, बसन्त घर्ती मगरको भीएफएक्स, रेनिश फागोको कलरिङ छ । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ ।

आफुले जानी नजानीलाई राम्रो फिल्म बनाउने हर प्रयास गरेका प्रस्तुतकर्ता रोशनी केसीले बताईन् ,‘मेकिङमा सम्झौता कहिँ कतै गरेका छैनौ । निर्माण पक्षको हिसाबले र पहिलो फिल्म डाक्टर खाते मार्फत मैले सिकेको धेरै कुरा यसमा प्रयोग गरेको छु ।’