मुम्बई(एजेन्सी) । हिन्दी र दक्षिण भारतीय फिल्ममा अभिनय गरेर लाखौं दर्शकको मन जितेका सुपरस्टार कमल हसनका फ्यानका लागि एउटा दुःखद खबर छ । त्यो खबर यो हो कि उनी चाँडै फिल्म क्षेत्रबाट सन्यास लिँदैछन् ।
कमल चाँडै नै आफ्नो नयाँ फिल्म ‘इन्डियन २’को सुटिङ सुरु गर्दैछन् । कमलले भारतमा हुन लागेको लोकसभा चुनावलाई मध्यनजर गर्दै अभिनयबाट सन्यास लिने निर्णयमा पुगेका छन् । केही समय अघि मात्र कमलले ‘मक्कल नीधि मय्यम’ नामको आफ्नो राजनीतिक दल खोलेका छन् । उनको पार्टी आगामी लोकसभा चुनावमा जाँदैछ ।
उनले फिल्म ‘इन्डियन २’को सुटिङपछि अभिनय छोड्ने मनस्थिति बनाएका छन् । उनको यो फिल्म सन् १९९६ मा रिलिज फिल्म ‘इन्डियन’को सिक्वेल हो । ‘अभिनय छोडेपछि निर्माताको हिसाबले फिल्ममा जोडिरहनेछु । मेरो पार्टी हालका दिनमा तमिलनाडुमा सक्रिय छ । त्यसकारण पनि मैले अभिनय छोड्न आवश्यक भइसकेको छ ।’ उनले भनेका छन् । कमलको फिल्म हालै रिलिज भइरहेको फिल्म ‘२.०’का निर्देशक एस शंकरले गर्नेछन् । फिल्ममा कमलको जोडीका रुपमा को हुन्छ भन्ने केही टुंगो लागिसकेको छैन ।