नाच्न नजान्ने दयाहाङ र गौरवको यस्तो नृत्य

काठमाडौं । अभिनेताद्वय दयाहाङ राई र गौरव पहाडी आफूलाई नाँच्नै नजान्ने कलाकारका रुपमा चित्रण गर्छन् । तर नाँच्नै पर्यो भने उनीहरु त्यो मौका पनि गुमाउन चाहँदैनन् ।फिल्म ‘साइँली’को आइतबार सार्वजनिक गीत ‘नाच माया’मा यी दुई कलाकारको नृत्य साँच्चै रमाइलो किसिमको छ । कोरियोग्राफर विक्रम स्वाँरले यी दुई कलाकारलाई नचाउन राम्रै मेहनत गरेको प्रष्ट देखिन्छ ।

गायक हेमन्त रानाको चर्चित गीत ‘साइँली’बाट नाम सापटी लिएर गौरव र हेमन्तको व्यानर जीएच इन्टरटेनमेन्टको व्यानमा निर्माण गरेको फिल्मको गीतमा दया र गौरवसँगै मेनुका प्रधान र केनिपा सिंहले फिचरिङ गरेका छन् ।

सुशान्त गौतमको संगीत र हर्क साउदको शब्द रहेको गीतमा हेमन्तकै स्वर छ । कार्यक्रममा गौरव र दयाहाङले आफूहरु नाँच्न नजाने पनि कोरियोग्राफरकै शैली अपनाएर नाँच्न सक्ने भएको बताए । उनीहरु आफ्नो नृत्य देखेर दंग परेका थिए । आगामी चैत १५ गते रिलिज हुने फिल्ममा रामबाबु गुरुङको लेखन तथा निर्देशन छ ।