काठमाडौं । फिल्ममा अभिनय गर्न कलाकारले राम्रै मेहनत गर्नुपर्छ । आगामी फागुन १० गतेबाट रिलिज हुने फिल्म ‘रूमालै छ चिनो’मा नायक सुशान्त कार्कीले यस्तै मेहनत गरेका छन् । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको भूमिकामा देखिएका उनले फिल्मका लागि तीन महिना सुटिङ नै रोके ।
‘फिल्मका लागि मैले कति मेहनत गरें मलाई मात्र थाहा छ । फिल्ममा फरक देखिनकै लागि मैले तीन महिना फिल्मको छायांकन रोकेर सिक्स प्याक बनाएँ । यो सिक्सप्याक कथाकै माग थियो’, फिल्मको ट्रेलर सार्वजनिक गर्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
फिल्मलाई निर्देशन दिनेशसिंह ठकुरीले गरेका हुन् । रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ नाम सापटी लिएर निर्माण गरिएको फिल्ममा सुशान्तसँगै अप्सना थापा, किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डितलगायतका कलाकारहरुको अभिनय छ । रेशम थापाको कथा रहेको फिल्ममा चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेको लगानी छ ।