दात घोट्न कहाँ जालान् गरुड पुराणका नाजिर

काठमाडौं । आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा सोमबार पत्रकार माझ सार्वजनिक ट्रेलरमा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गरेको संघर्षको कथालाई कमेडी फ्लेभरमा उठाइएको छ ।

फिल्मका निर्देशक सुवास कोइरालाले विवाहमा बाजा बजाउनेहरूको कथा फिल्ममा भएकाले विवाहको मौसम पारेर माघ ४ मा रिलिज गर्न लागिएको बताए । ट्रेलरमा नायक नाजिर हुसेन विवाहमा बाजा बजाउने दलित युवाको भूमिकामा छन् । उनकी कन्जुस र झगडालु माइजुको भूमिकामा लुनिभा तुलाधरलाई देख्न पाईन्छ ।

ट्रेलरमा अभिनेता कर्मा शाक्य र नवोदित अभिनेत्री प्रियंका सिंहलाई प्रेम संघर्षमा देखाईएको छ । यसमा रामेश्वर चौरसिया खल चरित्रमा छन् । अर्का अभिनेता प्रविण खतिवडा पनि पैसाको लागि संघर्ष गरिरहेको युवाको भूमिकामा छन् । गरुड पुराणका अन्य कलाकारमा जान्हवी बोहरा, कमल देवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टलगायत छन् ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा बिनोद खतिवडा, अकाश बराल र सुवासको हो । यसको सम्बाद आकाशले लेखेका हुन् । गरुड पुराणलाई सुसन प्रजापतिको छायाँकन गरेका हुन् । जसमा रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण ब्यबस्थापन रहेको छ ।