मुम्बई(एजेन्सी) । बलिउडका ‘किङ खान’ अर्थात शाहरुख खानको फिल्म ‘जीरो’ले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाउन सकेको छैन । त्यसैकारण पनि यो फिल्मलाई ‘फ्लप’को दर्जा दिइन लागिएको छ । रिलिजको चार दिन पछि फिल्मले ६० करोडको मात्र व्यापार गरेको छ ।
यही खबरका बीच शाहरुखले फिल्मको कमाई भन्दा पनि नयाँ फिल्मको काममा ध्यान दिने भएका छन् । फिल्म ‘डन’ का निर्देशक फरहान अख्तरले शाहरुखलाई फिल्मको तेस्रो सिक्वेलमा काम गर्नका लागि तयार रहन आग्रह गरेका छन् ।
समाचार अनुसार फिल्म ‘डन ३’को स्क्रिप्ट लक भइसकेको छ । शाहरुखले यो फिल्मलाई आगामी वर्ष मात्र शुरु गर्ने निर्णय पनि लिएका छन् । फरहान अख्तर पछिल्लो एक वर्षदेखि ‘डन ३’को स्क्रिप्टमा काम गरिरहेका थिए ।
निर्माताहरूका अनुसार फिल्म ‘डन ३’को कथा अघिल्लो संस्करण भन्दा भिन्न छ । जसको अघिल्ला दुई संस्करणसँग कुनै सम्बन्ध हुने छैन । केही समय अघि ‘डन ३’मा शाहरुख खानसँग नायिका प्रियंका चोपडाको ठाउँमा नयाँ नायिका देखिने समाचार आएको थियो । प्रियंकाले समय दिन नचाहेको बताए पनि शाहरुख र प्रियंका बीच पछिल्लो समयमा चलेको शितयुद्धले पनि प्रियंका उनीसँग काम गर्न नचाहेको बुझिएको छ । शाहरुखले फिल्म ‘डन ३’ भन्दा अघि ‘सारे जहाँ से अच्छा’को सुटिङ सकेपछि मात्र ‘डन ३’को काम शुरु गर्ने बताएका छन् ।