‘मुकुन हेरेरै चोपेन्द्र लेखियो’

काठमाडौं । केही दिनअघि सार्वजनिक फिल्म ‘बुलबुल’को टिजरमा नायिका स्वस्तिमा खड्कासँग नयाँ युवक देखिए । फिल्म क्षेत्रका लागि उनी नयाँ हुन् । वास्तविक नाम मुकुन भुषाल भए पनि फिल्ममा उनले पाएको नाम ‘चोपेन्द्र’ दर्शकका लागि मात्र होइन् । टिजरमा नायिका स्वस्तिमालाई पनि अनौठो अनुभव गराइसकेको छ ।

फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा छिन् । टिजरमा चोपेन्द्रकै कारण स्वस्तिमाले लाइसेन्स गुमाउनुपरेको देखाइएको छ । फिल्मका निर्देशक विनोद पौडेलका अनुसार मुकुनलाई देखेर नै विनोदले चोपेन्द्र चरित्र स्क्रिप्टमा उतारेका थिए । ‘यो चरित्र मैले मुकुनलाई नै हेरेर लेखेको हो । बीचमा पढाइका कारण उनले नभ्याउने जस्तो थियो । तर, हाम्रो सुटिङ पनि भनेको समयमा भएन । त्यसैले मुकुनले यो चरित्र गर्न भ्याए,’ पौडेलले भने, ‘मैले चोपेन्द्रलाई जे सोचेर लेखेको थिएँ । उनले त्यसलाई अभिनयले सार्थक बनाएका छन् ।’

मुकुन यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन् । उनले नेपालकै ओस्कार कलेजबाट फिल्ममै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए । कलेजमा पढ्दा दर्जनौं छोटा फिल्ममा अभिनय गरेपनि ठूलो पर्दाको फिल्म भने ‘बुलबुल’नै पहिलो हो । फिल्म फागुन ३ गते रिलिज हुँदैछ ।