शाहरुखले गाए रन रन रन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानको हालै रिलिज तीन फिल्मले उनलाई सन्तुष्टि दिन सकेन । फिल्म लगातार फ्लप भएपछि शाहरुख अब के गर्लान् भन्ने अन्यौल उनका शुभचिन्तकमा कायम छ । यही अन्यौलताका बीच उनी अब गायक बन्ने खबर सार्वजनिक भएको छ ।

भारतमा क्रिकेटको उत्सवका रुपमा रहेको आइपीएल सुरु हुने तयारीमा छ । शाहरुख आफै पनि कोलकाता नाइट राइडर्सका मालिक हुन् । त्यही कारण शाहरुख आफ्नो टिमको लागि एक गीत गाउँदैछन् ।

उनले संगीतकार बप्पी लाहिरीलाई एक गीतको संगीत तयार पार्न आग्रह गरेका थिए । गीतको बोल ‘रन रन रन’ राखिएको छ । बप्पीले छोरा बाप्पासँग गीतको एरेन्ज गरेका छन् । यो गीतका लागि शाहरुखले कैयौं दिनसम्म रिहल्सल गरेर गीत रेकर्ड गराएका थिए ।

आइपीएल सुरु हुनु अघि नै गीत रिलिज हुनेछ । शाहरुखले यसअघि फिल्म ‘जोश’को गीत ‘आपुन बोला’ पनि गाएका थिए ।