प्रङ्ना निर्मात्री भन्छिन्ः भाषिक फिल्मलाई राज्यले हेर्नुपर्यो

काठमाडौं । तामाङ भाषाको फिल्म ‘सिङला माने’ र ‘प्रङ्ना’की गायिका तथा निर्मात्री छिमी मम्बा तामाङले आदिवासी फिल्मलाई पनि राज्यले हेर्नु पर्ने माग गरेकी छन् । उनले आदिवासी फिल्महरु भाषाकै कारण फिल्म हलमा रिलिज नहुनुमा राज्यको पनि हात रहेको बताउँदै राज्यले चाहेमा भाषिक फिल्मले हलमा स्थान पाउने जनाइन् ।

उनको फिल्म ‘प्रङ्ना’ प्रदर्शनको तयारीमा छ । तर भाषागत समस्याका कारण फिल्म रिलिज हुने वा नहुने भन्ने अन्यौल छ । उनले राज्यले आदिवासी फिल्मका लागि नीति नै बनाएमा भाषिक फिल्मले पनि हल पाउने बताइन् ।

‘मेरो फिल्ममा महिला बेचबिखनको विषय उठाएकी छु । जसमा अशिक्षित मात्र नभएर शिक्षित महिलाहरु समेत मुम्बईमा बेचिँदै आएका छन् । त्यो किन भन्ने विषय फिल्म प्रङ्नामा उठाएकी छु ।’ उनले भनिन् ।

‘म्हेन्दोमाया गायिका’का रुपमा परिचित छिमीले आफ्नो भाषा, संस्कृति र रहनसहनलाई प्रवद्र्धन गर्ने उद्देश्यले फिल्म निर्माणमा हात हालेकी बताइन् । फिल्म ‘प्रङ्ना’को राजधानीमा च्यारिटी शो समेत गरिसकेकी छन् । च्यारिटीबाट राम्रो प्रतिक्रिया पाएको भन्दै उनले भनिन्, ‘अब धादिङ र विदेशमा पनि च्यारिटी गर्दैछु ।’ उनले कोरिया, युके, अ‍ेमेरिका, अष्ट्रेलियालगायतका देशमा ‘प्रङ्ना’को च्यारिटी शोका लागि निश्चित भइसकेको बताइन् ।