ज्यान बनाउन अमेरिका पुगे आमिर

मुम्बई(एजेन्सी) । सन् २००८ मा बलिउड अभिनेता आमिर खानले फिल्म ‘गजनी’का लागि ८ पेक एब्स बनाएका थिए । त्यो समयमा उनको ज्यान देखेर नाम चलेका बडी बिल्डर पनि फिदा बनेका थिए । उनको बडी फिटनेसकै कारण फिल्म गजनीले बलिउडको इतिहासमा पहिलोपटक सय करोडको आकडामा प्रवेश पायो ।

अहिलेको समयमा केही स्टार कलाकारका लागि सय करोड सजिलो भए पनि १० वर्ष अघिको अवस्था अहिलेको जस्तो थिएन । यो फिल्म पछि आमिर ‘दंगल’का लागि हरियाणाको पहलवान नै बने । जसका लागि उनले २७ किलो तौल नै बढाएर ९५ किलोको भए । यो फिल्मले विश्वव्यापी रुपमा दुई हजार करोडको व्यापार गरिसकेको छ ।

आमिर पुनः एकपटक आफ्नो ज्यानलाई झन राम्रो बनाउन अमेरिका उडेका छन् । उनी न्यूर्योकमा रहेका प्रख्यात फिटनेस गुरु जैफ केवेलियरसँग भेटेर शारीरिक व्यायाम पनि गरेका छन् । जैफले यसअघि आमिरको फिल्म ‘दंगल’का लागि आमिरको शरीर बनाइदिएका थिए । आमिरले कुन फिल्मका लागि फिट्नेसमा ध्यान दिन अमेरिका उडे भन्ने केही जानकारी आएको छैन ।