इलामको देउमाईमा साहित्य उत्सव

काठमाडौं । इलामको देउमाइस्थित मंगलबारे बजारमा चैत २३ र २४ गते साहित्य तथा पर्यटन महोत्सव हुने भएको छ . ‘समाजका लागि युवा’ नामक संस्थाले पहिलो पटक गर्न लागेको महोत्सवमा साहित्य, कला, पर्यटन, संस्कृति, राजनीति, आदी विषयमा विमर्श हुनेछ ।

कार्यक्रमको पहिलो दिन प्रा। डा अभि सुवेदीको प्रवचन, त्यसपछि कुन्ता शर्मा र सीमा आभासको ‘सार्वजनिक जीवनमा महिला सकस कति सुविधा’ विषयमा बहस त्यस्तै, ‘थातथलो र परदेश’ विषयमा एपीवान टेलिभिजनका टीकाराम यात्रीले विश्लेषक खगेन्द्र संग्रौलासँग बहस गर्नेछन् ।

त्यस्तै देउमाइ क्षेत्रका देउमाइ नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका प्रमुखसँग ‘देउमाई –२०९०’ विषयमा छलफल हुनेछ । दोस्रो दिन ‘युवा अवसर र नेतृत्व’ विषयमा नेकपा सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौड्यालसँग पत्रकार बसन्त बस्नेतले बहस गर्नेछन् ।

त्यसैदिन ‘कविता कला कि नारा ? कवितामा स्थानीय भाषाको प्रभाव’ विषयमा कवि राज माङलाक, मुनाराज शेर्मा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिसँग पत्रकार समीरबाबु कट्टेलले बहस गर्नेछन् । कार्यक्रममा राजनीतिक विश्लेषक प्रदीप गिरीले ‘२००७ साल पछिको नेपाल’ बारे एक घण्टा प्रवचन दिनेछन् । त्यस्तै, पत्रकार नारायण वाग्ले, निर्देशक अभिनेता दयाहाङ राई र वरिष्ठ मूर्तिकार राजु पिठाकोटेले संघर्षका कथा सुनाउनेछन् ।

देउमाई किन घुम्ने भन्नेबारेमा प्रदेश सभासद् राम राना र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले बोल्नेछन् । कार्यक्रममा प्रदेशभरका र सिलिगुडिका समेत किवहरूले कविता सुनाउने कार्यक्रम छ । महोत्सवमा नेपाल पर्यटन बोर्ड प्रबद्र्धकको रुपमा, नेपाल प्रज्ञा प्रतिष्ठान र देउमाइ नगरपालिका सहयोगी संस्थाको रुपमा रहनेछन् ।