काठमाडौं । गायक शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सेलिब्रेटी नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ । भिडियोमा अभिनेता दीलिप रायमाझी र अभिनेत्री मरिष्का पोखरेल फिचर्ड छन् । नृत्यमा पोख्त अभिनेता दीलिप र पछिल्लो समय ‘सालको पात टपरी’ बोलको गीतबाट चर्चामा आएकी अभिनेत्री मरिष्काको केमेष्ट्रि भिडियोमा गज्जबको देखिएको छ ।
गायक शंकरलालको यो दोस्रो गीत हो । अभिनेत्री मरिष्काले आफूले सानैदेखी अभिनेता दीलिपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै संगै काम गर्न पाएकोमा खुशी ब्यक्त गरिन् । निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए ।
प्रिमियरमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले बधाई तथा शुभकामना दिँदै आफूले पहिलोचोटी म्यूजिक भिडियो निर्माण गर्दाको स्मरण सुनाए । पहिलोपटक अभिनेता भुवन केसीको गीतको भिडियो बनाउँदा मैले धेरै गाली खाएको थिए’ शम्भुजितले भने, ‘आज त्यही भिडियोको स्वरुपले ब्यापकता लिएकोमा खुसी छु ।’
काभ्रेको रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् भने कुशल शर्माले भिडियोको सम्पादन गरेका हुन् । भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।