काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको दोस्रो निर्देशकीय फिल्म ‘ए मेरो हजुर ३’ आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ । यो फिल्मबाट उनकी छोरी सुहाना थापा नेपाली रजतपटमा नायिकाका रुपमा ‘डेब्यू’ गर्दैछिन् । नायिकाका रुपमा यो उनको ‘डेब्यू’ भए पनि कलाकारका रुपमा भने उनले फिल्म ‘ए मेरो हजुर’मै ‘डेब्यू’ गरिसकेकी छन् ।
झरना थापा र श्रीकृष्ण श्रेष्ठ अभिनित र शिव रेग्मी निर्देशित फिल्म ‘ए मेरो हजुर’मा सुहानाले झरनाको छोरीको भूमिकामा अभिनय गरेकी थिइन् । ‘यो मेरा लागि संयोग र अवसर नै हो । बच्चादेखि होस्टेलमा बसे पनि बुवा र ममीको फिल्म क्षेत्रमा सक्रियतालाई नजिकबाट नियालिरहेको थिएँ’, हालैको भेटमा सुहानाले भनिन्, ‘ममीको अघिल्लो फिल्म ‘ए मेरो हजुर २’ बनिरहँदा म पढाईमा व्यस्त थिएँ । त्यतिबेला मेरो खासै इच्छा पनि थिएन । तर अहिले भने आफ्नै इच्छाले फिल्म खेल्न राजी भएँ ।’
अभिनयमा त्यति आइडिया नभए पनि सुहानाले फिल्मको वर्कसपका समयमा राम्रो अभिनय कक्षा लिएकी रहिछन् । ‘अभिनय वर्कसपमै राम्ररी सिके । त्यही कारण पनि फिल्मको ट्रेलरमा जस्तै मेरो अभिनय पनि अब्बल बनेको छ’, सुहानाले भनिन्, ‘सुटिङको समयमा मामु र म बीच कहिल्यै आमा छोरीको सम्बन्ध रहेन । हामी निर्देशक र कलाकारका रुपमा काम गथ्र्यौ । त्यसकारण पनि काममा सहज भयो ।’
फिल्ममा सुहानाले अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेकी छन् । उनलाई अनमोल सहयोगी, इमान्दार लाग्दो रहेछ । सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर ३’मा अर्पण थापा, सलोन बस्नेत, रेअर राईको पनि अभिनय छ । फिल्ममा अनमोल दोहोरो भूमिकामा छन् ।