काठमाडौं । बहुप्रतिक्षित फिल्मको रुपमा रहेको फिल्म ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । नेपाली राजनीतिमा ३३ किलो सुनकाण्डले एकताका अत्याधिक चर्चा पाइरहँदा फिल्मका निर्देशक प्रदीप भट्टराईले त्यही सुनको कथालाई फिल्ममा प्रस्तुत गरेका छन् । ट्रेलर हेर्दा सुन भेट्टाएका तीन पात्र विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले सुन लुकाउने गरेको प्रपञ्च र त्यसमा सिभिल प्रहरी बनेका दयाहाङले सुन खोज्न गरेको संघर्षलाई प्रष्ट देखिन्छ ।
कमेडी र मार्मिक संवादले भरिपूर्ण ट्रेलरमा विपिनकी श्रीमतिको भूमिकामा देखिएकी वर्षा राउतले विपिनकै क्रियाकलापबाट आजित भएर डिभोर्स दिने चेतावनी दिएको दृश्य मार्मिक लाग्छ । वर्षाले ‘छोरो बुझ्ने भएपछि म आफै डिभोर्स दिन्छु’ भन्ने संवादले पनि विपिन र वर्षाको जिन्दगीमा दरार आउनुमा सुन प्रमुख पात्र हो भन्ने प्रष्ट देखिन्छ ।
आगामी जेठ ३ गतेबाट प्रदर्शनमा आउने फिल्म २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल हो । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । फिल्ममा प्रकाश घिमिरे, राजाराम पौडेल, अञ्जु महर्जन, सोहित मानन्धर, प्रेम पाण्डे, सुस्मिता कार्की, प्रियंका झालगायतका कलाकारको अभिनय छ ।
फिल्ममा मित्र डि. गुरुङको सम्पादन, शिवराम श्रेष्ठको छायांकन, शंकर महर्जनको द्वन्द्व, निर्देशक भट्टराईकै कथा, कालीप्रसाद बासकोटा र कृष्ण भारद्वाजको संगीत छ ।