नीरलाई लाइफटाइम, अनन्तलाई पत्रकारिता पुरस्कार

काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । त्यस्तै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान– २०७६’ गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि फिल्म निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ । यस्तै ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ बाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्लेलाई पुरस्कृत गरिनेछ । आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्ती जारी गर्दै ११ औं ‘इएनआई छायाँछवि डि सिने अवार्ड– २०७६’मा सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको जनाएका छन् ।

‘छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड– २०७६’का पुरस्कृत व्यक्तित्व नीरसँग अभिनयसँगै बसन्ती, राजमती, सेतोबाघ, मसान निर्देशनको अनुभव छ । ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान– २०७६ (महिला) बाट सम्मानित हुँदै गरेकी देविका ‘यस्तै रहेछ यहाँको चलन’ बोलको आधुनिक गीतबाट चिनिन्छिन् । उनका थुप्रै फिल्मी गीत हिट छन् । यस्तै ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान– २०७६ (पुरुष)’बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत उम्दा निर्देशकका रुपमा चिनिन्छन् । ‘राजकुमार’ नामक फिल्मबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले २०७६ सम्म आइपुग्दा २९ चलचित्रको निर्देशन गरिसकेका छन् ।

यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार–२०७६’ बाट पुरस्कृत हुँदै गरेका रंग पत्रकार अनन्त वाग्लेले २०४७ सालमा माधुरी नामक पत्रिकाबाट रंगपत्रकार प्रारम्भ गरेका अनन्तले कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै यहिले अन्नपूर्ण पोष्टमा मनोरञ्जन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका छन् ।

११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा प्रदान गरिनेसम्मान एवं पुरस्कार अन्तर्गत ‘छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड’मा नगद २५ हजार २५ सहित प्रमाण–पत्र दोसल्लाको सम्मान, ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान– २०७६’ मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान र ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’मा नगद एघार हजार १ सय ११ सहित प्रमाण–पत्र एवं दोसल्ला छ ।