मृगौलापीडित निर्मललाई केःसाङ्लाको एक लाख

काठमाडौं । झापास्थित कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ फिल्म ‘केःसाङ्ला’ को विशेष च्यारिटी गरिएको छ । राजधानीको कमलपोखरीस्थित बिग सिनेमामा शनिबार आयोजना गरिएको च्यारिटी शोमा सभामुख कृष्णबहादुर महरा आकर्षणका केन्द्र थिए । उनले फिल्मको भाषा नबुझे पनि फिल्म रमाइलो लागेको प्रतिक्रिया दिए ।

लोकेन साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङ्ला’ च्यारिटी शोबाट संकलित रकममध्ये खर्च कटाएर शनिबार नै मृगौलापीडित निर्मललाई १ लाख ६४ हजार २ सय ५ रुपैयाँ हस्तान्तरण गरियो । यसअघि हङकङ र मोरङमा प्रिमियर गरिएको यो फिल्म राजधानीमा पहिलोपटक च्यारिटी शो गरिएको हो । मृगौलापीडित लागि च्यारिटी शो भएकाले दर्शकको भीड लागेको थियो ।

फिल्मका निर्देशक लिम्बूले मनोरञ्जनसँगै सामाजिक काममा सक्रियता बढाउन च्यारिटी शो गरिएको बताए । उनले भने, ‘मृगौला रोगीको सहयोगका लागि आज सबैको साथ जुटेको छ ।’ चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल आदिवासी सांसद एलपी साँवा लिम्बू, जनजाति महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पा, निर्देशक नविन सुब्बालगायत पनि फिल्म हेरेका थिए ।

फिल्ममा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । फिपरानी तुम्बाहाम्फे, विष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाम्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ । यो फिल्म चाँडै हुन गइरहेको ‘आदिवासी फिल्म फेस्टिवल–२०७६’मा समेत छनोट परेको निर्देशक लिम्बूले बताए ।