काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म साइनो करोड क्लबमा पुग्ने पक्का भएको छ । तीन दिनको व्यापारले यो संकेत देखाएको हो । डिष्ट्रिब्युटर ब्यांकेटसका अनुसार साइनोले तीन दिनमा देशभरबाट ७० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको छ । यो अनुपातले पनि साइनो करोड क्लबमा पुग्ने पक्का छ ।
नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म साईनो अहिले देशभरका ६ दर्जनभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ । पहिलो दिन औसत कलेक्सन गरे पनि दोस्रो दिन शनिबार भने साइनोले उत्साहजनक व्यापार गरेको थियो ।
काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा समेत साइनोले राम्रो व्यापार गरेको छ । उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोड लगायतका स्थानमा पनि साइनोले राम्रो व्यापार गरेको छ । यसअघि फिल्म साइनो हेर्न पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, फिल्म विकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।
चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित फिल्म साइनोमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको फिल्म साइनोलाई अभिमन्यु निरबीले लेखेका छन् ।