काठमाडौं । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्म ‘हजार जुनीसम्म’का लागि गीत गाएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’को रिएरेन्जलाई गाएका हुन् ।
फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । गीतमा पवन चाम्लिङ ‘किरण’ को शब्द र योगेन्द्र घतानीको संगीत रहेको छ । उदयको स्वरमा फिल्ममा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा अनुभव रेग्मी देखिनेछन् । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए ।
विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्म आगामी साउन ३० मा रिलिज हुँदैछ । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् । यसमा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।