बेलायतमा धमाधम बैरागको कैदीको पत्र

काठमाडौं । साहित्यकार सनमकुमार बैरागले बेलायतमा अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’मा फिल्म निर्माण गरिरहेका छन् । २६ जुलाईबाट बेलायतका विभिन्न स्थानमा सुटिङ भइरहेको फिल्मको निर्देशन बैराग आफैंले गरेका छन् । फिल्मा उनकै पटकथा, सम्वाद र गीत छ ।

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको विषम परिस्थितिको विषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए । राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भई आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन् ।

‘महामहिमज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्तरुप दिनका लागि आफू सुटिङमा उपस्थित भएको बताउनुभयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावित हुनुहुन्थ्यो । त्यसकारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो । उहाँको साथले खुशी मिलेको छ ।’

फिल्ममा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान,मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन् । फिल्ममा रामेश्वर कार्कीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व, सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत, रामशरण कोइरालाको मुख्य सहायक निर्देशन र सुस्मिता थापाको सहायक निर्देशन छ । फिल्ममा कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिल घले निर्माता छन् ।

फिल्म सुटिङका लागि केही साता अघि प्राविधिकको एक टोली काठमाडौबाट बेलायत उडेको थियो । फिल्मको हालसम्म स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनलगायतका स्थानमा सुटिङ गरिएको छ ।