काठमाडौं । धनकुटाकी साहित्यकार झमककुमारी घिमिरेको साहित्यिक कृतिमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ आगामी कार्तिक २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । घिमिरेको कृति मदन पुरस्कार विजेता कृति हो ।
विनोद विष्टले निर्माण तथा निर्देशन गरेको यो फिल्ममा झमक बाल्यकालिन भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो भूमिकामा काठमाडौंकी रोजिता वुद्धचार्य, झमकको बहिनीको भूमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।
शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् । चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ । चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन् । विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता फिल्म निर्माण र निर्देशन गरिसकेका छन् ।