सन्तोषलाई एक्सन कट गर्दै साकार

काठमाडौं । सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा अत्यन्तै रुचाइएको टेलिफिल्म ‘हिजो आजका कुरा’ अब फिल्मका रुपमा दर्शकमाझ आउने भएको छ । सन्तोष पन्तको निर्देशन तथा अभिनय रहेको यो चर्चित टेलिफिल्मलाई फिल्मका रूपमा उनका छोरा साकार पन्तले दर्शकमाझ ल्याउन लागेका हुन् ।

निर्देशक साकारका अनुसार हास्यापद र भावनात्मक तरिकाले निर्माण गरिने फिल्मले काठमाडौंमा रहेका चार परिवारको कथालाई देखाउनेछ । ‘अहिले नेपालीको दैनिकीम ाविदेश जाने लहर थपिएपछि हुने उत्साह, उमङ्ग र सँगै आउने कठिनाइहरूलाई हाँस्यास्पद रुपमा प्रस्तुत गर्नेछौं । यो फिल्मले अहिले विदेशमा बस्ने नेपालीको जीवनशैली, सामाजिक जीवनमा पर्ने बाध्यता, कठिनाई र परिवारको दबाबलाई जीवन्त रुपमा प्रस्तुत गर्नेछ’, उनले भने ।

पन्त फिल्म प्रोडक्सनद्वारा निमार्ण हुने फिल्ममा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुइकेल, अनुष्का अधिकारीलगायतको अभिनय रहनेछ ।

फिल्मको सह–निर्मातामा बैकुण्ठप्रसाद घिमिरे(अशोक) छन् । फिल्ममा रवि सायमीको छायांकन, विनय कंसाकारको सम्पादन, भीएफएक्स र ग्राफिक्स, सन्तोष र साकारको कथा र सन्दीप किस्नाको लेखन रहनेछ ।