फस्टलुकमा आर्यनको जस्मिन

काठमाडौं । अभिनेता आर्यन अधिकारी स्टारर फिल्म ‘जस्मिन’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ । प्रेमकथानक यो फिल्मले एउटा संघर्षरत संगीतप्रेमीको संघर्षलाई देखाउनेछ ।

शंकर कार्कीले निर्देशन गरेको फिल्मले एक अन्जान पात्रले उक्त संगीतप्रेमीलाई कतिसम्म निस्वार्थ सहयोग गर्छ भन्ने विषयलाई प्रस्तुत गरेको छ । यसअघि फिल्म ‘रोमियो’ निर्देशन गरिसकेका निर्देशक कार्कीले फिल्मले संगीतप्रेमीको जर्नी, एक अन्जान पात्रको निस्वार्थ सहयोग, साथीहरुको सम्बन्ध, पारिवारिक समस्या, समाजमा देखिने र सुनिने गम्भीर कुरालाई उतारेको बताए ।

फिल्ममा आर्यनसँगै अशिष्मा नकर्मी, के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल, मिना बानियाँ र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाले यहि फिल्मबाट अभिनयमा ‘डेब्यू’ गरेकी छन् ।  मेनका फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा किरण घिमिरे (माइकल)को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन र कोसिस क्षेत्री र कल्याण सिंह र एलिश कार्की र किरण घिमिरेको संगीत छ ।

फिल्मको ७५ प्रतिशत छायांकन नेपालमा सकिएको छ । बाँकी २५ प्रतिशत फिल्म सुसन प्रजापतिले चाइनामा खिच्नेछन् । निर्माण नियन्त्रक सुर्य बुढाथोकीका अनुसार फिल्मको जम्मा लागत २ करोड ७५ लाख पुग्नेछ । फिल्मको रिलिज डेट भने फाइनल भैसकेको छैन ।