‘मिष्टर नेपालीमा म नायक होइन’

काठमाडौं । कार्तिकको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’का प्रमुख कलाकार भुवन केसीले आफू फिल्ममा नायक नभएको बताएका छन् । उनले फिल्ममा आफू दोहोरो चरित्रमा देखिएपनि नायक नभई खलनायकको भूमिकामा देखिन लागेको खुलाएका हुन् । फिल्ममा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् ।

‘फिल्ममा म मुख्य नायक होइन । यसमा, मलाई दर्शकले नकारात्मक भूमिकामा देख्न पाउनुहुनेछ । पर्दामा मलाई देख्दा दर्शकलाई नौलो लाग्न सक्छ’, उनले भने । देव भुषालको निर्देशनमा तयार भएको फिल्ममा भूवनको साथमा नयाँ अनुहार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

फिल्मको कथा साहिलको वरिपरी घुमेको छ । भूवनले भने–‘यो चलचित्रले राष्ट्रियताको कथा भन्छ । विदेशमा बसेर पनि नेपालीहरुको मन नेपालमै हुन्छ भन्ने कथामा चलचित्र बनेको छ ।’

फिल्ममा कमेडी, प्रेम र देशप्रेम सबै भएकाले पनि दर्शकले मन पराउने विश्वास भूवनले गरे । प्रेमराज दाहालको लगानीमा बनेको यो फिल्मको अहिले प्रचारप्रसार तिव्र छ ।