सञ्जयको पानीपत लुक्सले अफगानिस्तानमा बहस

मुम्बई(एजेन्सी) । बलिउड निर्देशक आशुतोष गोवारिकरको ऐतिहासिक फिल्म ‘पानीपत’को ट्रेलरले मिश्रित प्रतिक्रिया पाइरहेको छ । अर्जुन कपूर, कृति सेनन र सञ्जय दत्तको अभिनय रहेको फिल्मले ऐतिहासिक लडाई पानीपतको तेस्रो लडाईंलाई देखाउने छ । जुन लडाईं अब्दाली र मराठाका बीच सन् १७६१मा भएको थियो । पानीपतको तेस्रो लडाईं भारतको मराठा र अफगानी शासक अहमद शाह अब्दालीको बीच भएको थियो ।

यो फिल्ममा सञ्ज्य अहमद शाह अब्दालीको भूमिकामा देखिँदैछन् । जसमा कृति पार्वती बाईको भूमिकामा छिन् र अर्जुन चाहिँ योद्धा सदाशिवराव भाऊको रूपमा देखिनेछन् । यो फिल्म रिलिज हुनु अघि नै विवादमा फसेको छ ।

‘पानीपत’मा सञ्जयको भूमिका भिलेन अहमदको छ । ट्रेलरमा दर्शकले सञ्जयको चरित्रलाई मनपराए पनि उनको भूमिकाका विषयलाई लिएर अफगानिस्तानका सामाजिक सन्जालमा बहस चर्किएको छ । त्यहाँका सामाजिक सन्जाल प्रयोगकर्ताले भारतीय निर्माता तथा प्रशासनलाई अब्दालीको भूमिकालाई नकारात्मक नदेखाउन माग गरेका छन् । अब्दालीलाई अफगानिस्तानमा सम्मान स्वरुप ‘अहमद शाह बाबा’ भन्ने गर्दछन् ।

सन्जयको लुक्समाथि टिप्पणी गर्दै भारतका लागि अफगानिस्तानका पूर्व राजदुत शाइदा अब्दाली ट्वीटरमा ‘डियर सञ्जय दत्तजी, ऐतिहासिक रुपमा भारतीय सिनेमाको भारत र अफगानिस्तानबीच सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण भूमिका छ । मलाई आशा छ कि ‘पानीपत’ फिल्ममा हाम्रो साझा इतिहासको यो महत्वपूर्ण घटनाक्रमलाई लिएर यो कुरालाई ध्यानमा राख्नुहुनेछ’ भन्दै ट्वीट गरेका छन् ।

मुम्बईमा अफगानिस्तानको वाणिज्य दुतावासका अधिकारी नसीम शरीफीले पूर्व राजदुतको ट्वीटमाथि रिट्वीट गर्दै पछिल्लो डेढ वर्षमा भारतमा बस्दै आएका अफगान राजनयिक फिल्ममा अहमद शाह बाबाको अपमान नहुने कुरालाई सुनिश्चित गर्ने प्रयास गरिरहेको उल्लेख गरेका छन् । ‘कोही अफगान यो कुरालाई स्वीकार्न सक्दैनन् । सञ्जय दत्तले मलाई भरोस दिलाएका छन् कि यदी अहमद शाह बाबाको चरित्र खराब थियो भने त्यो चरित्र आफूले कहिल्यै नगर्ने उल्लेख गरेका छन् ।’ उनले भनेका छन् । यो फिल्म आगामी डिसेम्बर ६ मा रिलिज हुँदैछ ।