अक्षयको पारिश्रमिक सय करोड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमार एक वर्षमा अन्य कलाकारको तुलनामा वर्षमा कमसेकम ५ पटक ठूलो पर्दामा आउने गरेका छन् । सन् २०१९ मा नै अक्षयको तीन फिल्म ‘केसरी’, ‘मिशन मंगल’ र ‘हाउसफुल ४’ रिलिज भयो । यसै वर्ष रिलिज हुने करण जोहारको फिल्म ‘गुड न्यूज’मा पनि उनी देखिँदैछन् । अक्षय आगामी वर्ष ‘सूर्यवंशी’, ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’ र ‘लक्ष्मी बम’मा देखिँदैछन् ।

समाचार अनुसार अक्षयले अर्को एक फिल्ममा पनि साइन गरेका छन् । जुन फिल्म एक्सन इन्टरटेनर हुनेछ । वासु भगनानी र फिल्म ‘एयरलिफ्ट’का निर्देशक निखिल आडवाणीसँग अक्षय एक पावरप्याक फिल्ममा काम गर्नेछन् । फिल्ममा अक्षय, वासु र निखिलको फिल्ममा एक्सन, इमोसन र मनोरन्जन हुनेछ । यो फिल्मका लागि अक्षयले सय करोड पारिश्रमिक लिएका छन् ।

यदी यो कुरा सत्य हो भने अक्षय बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बन्नेछन् । फिल्मका निर्माता अक्षयसँग काम गर्ने एक नायिकाको खोजी गरिरहेका छन् ।