दीपिकाकै कारण छपाक फ्लप !

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ बक्स अफिसमा फ्लप साबित भएको छ । फिल्मले एसिड पीडित लक्ष्मी अग्रवालको कथा प्रस्तुत गरे पनि अभिनेत्री दीपिकाकै कारण फिल्म फ्लप भएको हो । जवाहरलाल नेहरु विश्वविद्यालयमा भइरहेको विद्यार्थी आन्दोलनमा दीपिका पुगेपछि ‘छपाक’ राजनीतिक मुद्धा बनेको थियो । दर्शकले फिल्मलाई बहिस्कार गर्ने माग गरेपछि यसको व्यापारमा असर परेको फिल्म पण्डितहरुको बुझाई छ ।

समीक्षक र दर्शकको सकारात्मक प्रतिक्रियाका बाबजुद फिल्मले सातौं दिनको कलेक्सन हेर्दा फिल्मले फ्लप यात्रा शुरु गरिसकेको व्यापार विश्लेषकहरुको भनाई छ । व्यापार विश्लेषक तरण आदर्शले फिल्मको सातौं दिनसम्मको व्यापार आकडा सार्वजनिक गरेका छन् । दीपिका र विक्रान्त मैसी स्टारर फिल्मले बिहीबार १ दशमलब ८५ करोडको व्यापार गरेको थियो । यो व्यापार बक्सअफिसमा एकदमै कम हो ।

सात दिनको व्यापार जोड्ने हो भने फिल्मले २८ दशमलब ३८ करोडको व्यापार गरेको छ । यही फिल्मसँग रिलिज भएको अजय देवगणको फिल्म ‘तानाजी द अनसंग वारियर’ले हालसम्म एक सय १८ दशमलब ९१ करोडको कलेक्सन गरिसकेको छ । तुलनात्मक रुपमा दीपिकाको फिल्मले अजयको फिल्मको तुलनामा एक चौथाई कम मात्र कमाई गरेको छ ।

‘छपाक’को बजेट ३५ देखि ४० करोड रहेको बताइएको छ । रिलिजको पहिलो र दोस्रो दिनसम्म फिल्मले बक्सअफिसमा सानदार ओपनिङ गरेको थियो । दुई दिनको कलेक्सन हेर्दा फिल्मले एक सातामा लगानी उठाउनेमा सबै विश्वस्त थिए । तर त्यसो हुन सकेन । फिल्मको विकेन्डसम्म १ करोड देखि २ दशमलब ५ करोडमै सीमित भयो ।