नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैदिन आमा

काठमाडौं । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा बोल्ने फिल्म ‘आमा’ नेपालसहित अमेरिका र अष्ट्रेलियामा एकैदिन प्रदर्शन हुने भएको छ । दीपेन्द्र के खनाल निर्देशित यो फिल्म आगामी फागुन ९ गते प्रदर्शन हुँदैछ । यो फिल्मलाई अमेरिकामा आत्रेय फाउण्डेसन र अष्ट्रेलिया असाप इन्टरटेनमेन्टले त्यहाँ प्रदर्शनको अधिकार लिएको हो ।

अधिकार लिने पक्ष र अधिकार दिने पक्षबीच सम्झौता भइसकेको छ । सम्झौतामा अधिकार दिने पक्षबाट निर्देशक खनाल र निर्मात्री शर्मिला पाण्डे तथा लिने पक्षबाट लेखक तथा संगीतकार किरण माइकल उपस्थित थिए ।

निर्देशक खनालका अनुसार फिल्मको ट्रेलर सार्वजनिक भएपछि विदेशबाट फिल्मको प्रदर्शन अधिकार लिनेको माग बढेको छ । सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । फिल्मको सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालको संगीत रहेको फिल्मको अधिकांश दृश्य पानीमा खिचिएको छ ।