मायालु रापाकोटमा सुनिए लक्ष्मण

काठमाडौं । लोक दोहोरी गायक लक्ष्मण चापागाईंको नयाँ गीत ‘मायालु रापाकोट’ को भिडियो सार्वजनिक भएको छ । नेपाल पर्यटन वर्ष २०२० लक्षित गरी तयार पारिएको उक्त गीतमा गायक चापागाईंलाई लोक गायिका सिर्जना सुवेदीले स्वरमा साथ दिएकी छन् ।

गायक चापागाईंकै लय तथा शब्द रहेको उक्त गीतमा अर्जुनकुमार पोखरेलको संगीत संयोजन रहेको छ । सुर संगीत डिजिटलमा रेकर्ड गरिएको यस गीतमा सन्तोष पौडेलको अडियो मिक्सिङ रहेको छ ।

गीतको भिडियोमा गायक चापागाईंसँगै लक्ष्मण भुसाल, खुशी रामदाम र प्रतिसा लामा, देवेन्द्र सिलवाल, आरती सुवेदी, सन्तोषी सुवेदी, ईश्वरी चापागाई, निरु चापागाई, अतीक्षा ज्ञवाली, संवृद्धि खनाल, सबिता अर्याल, रश्मी अर्याल, दिपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङ लगायतका कलाकारको अभिनय छ । सागर गौतमले छायांकन गरेको गीतको भिडियोको निर्देशन सन्तोष भुजेल गरेका हुन् ।

रोइला भाकामा गाइएको उक्त गीतमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेका पर्यटकीय, सांस्कृतिक तथा धार्मिक स्थललाई गीतका माध्यमबाट चिनाउने काम गरेको गायक चापागाईंले बताए । उनले पश्चिम नेपालमा मौलिक संस्कृतिका रुपमा प्रचलनमा रहेको लोकभाकालाई भूगोल, संस्कृति, धर्म तथा पर्यटनसँग जोडेको जिकिर गरे ।