फिल्ममा नजर डुलाउँदै नेफ्टा जुरी

काठमाडौं । नेफ्टा फिल्म अवार्डको दशौं संस्करणको लागि जुरी टिमले फिल्म हेर्ने काम सुरु गरेको छ । उत्कृष्ट पाँच मनोनयन छनोटको लागि अवार्डमा दर्ता भएका फिल्महरु बुधबारबाट हेर्ने क्रम सुरु भएको हो । नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपालको आयोजनामा चैत्र २२ गते टुँडिखेलमा आयोजना हुने अवार्ड समारोहमा कुल ३७ विधा समावेश छन् । जहाँ ३२ विधा प्रतिस्पर्धामा रहनेछन् भने अन्य विधाको बिजेता जुरी र आयोजकले तय गर्नेछ । निर्णायक टिमका सदस्यबारे नेफ्टाले खुलाएको छैन ।

संघका अध्यक्ष पुष्कर लामाले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपालमै आयोजना हुन लागिरहेको अवार्डले सरकारी अभियानमा हातेमालो गर्ने विश्वास व्यक्त गरिन् । ‘चलचित्र पर्यटनले मात्रै सरकारको अभियान र उद्देश्य सफल हुन्छ भन्ने हाम्रो बुझाई हो’, उनले भने, ‘राष्ट्रिय पर्यटन प्रवर्धनमा महत्वपुर्ण हिस्सा मानिने फिल्मसँग जोडिएको संस्थाले गर्न लागेको यो कार्यक्रममा नेपाल सरकार र पर्यटन सम्वद्ध सम्पुर्ण निकाय तथा आम नेपालीको साथ र सहयोगको अपेक्षा नेफ्टाले गरेको छ ।’
जुरीले फिल्म हेरिसकेपछि फागुन २४ गते नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक हुनेछ ।

नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट कथा, पटकथा, श्रृङ्गार हेयर, ड्रेस डिजाइनर, ध्वनी मिश्रण, कला निर्देशन, द्वन्द्व निर्देशन, पार्श्व संगीत, चलचित्र सम्पादन, छायांकन, हाँस्य अभिनेता, खलनायक, सह अभिनेता, सह अभिनेत्री, नव निर्देशक, नव अभिनेता, नव अभिनेत्री, उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, चलचित्र, संवाद, एनिमेटर, चरित्र अभिनेता, चरित्र अभिनेत्री, बालकलाकार, एरेञ्जर, संगीतकार, गीतकार, पार्श्व गायक, पार्श्व गायिका, नृत्य निर्देशक गरी ३२ विधा अवार्डमा प्रतिस्पर्धामा रहनेछन् । साथमा पपुपर फिल्म, अभिनेता, अभिनेत्री, बर्षको उत्कृष्ट जनजाती चलचित्र र जुरी अवार्ड क्रमशः आयोजक र जुरीले वितरण गर्नेछ ।