दीपेन्द्रलाई पशुपतिप्रसादपछि आमाको भर

काठमाडौं । फिल्म ‘पशुपतिप्रसाद’ को सफलतापछि निर्देशक दीपेन्द्र के खनाल नेपाली फिल्मका लागि एउटा ब्राण्ड नै बने । यो फिल्मले दीपेन्द्र फरक कथामा मर्मस्पर्शी फिल्म बनाउन सक्छन् भन्ने उनले प्रमाणित गरे । आगामी फागुण ९ गतेबाट रिलिज हुने फिल्म ‘आमा’मा पनि दीपेन्द्रकै निर्देशन छ ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्मको शीर्ष भूमिकामा मिथिला शर्मा छिन् । उनको छोरीको भूमिकामा नायिका सुरक्षा पन्त छिन् । फिल्मको सार्वजनिक ट्रेलर र गीतले यसको केही भावलाई दर्शकले बुझिसकेका छन् ।

फिल्ममाथि भरोसा हुनुको मुख्य कारण निर्देशक खनाल हुन् । उनले निर्देशन गरेको फिल्म ‘पशुपति प्रसाद’ले दर्शकमा उनीमाथि भरोसा गर्ने बलियो आधार खडा गरिदिएको छ । यसपछि, दीपेन्द्रले केहि कमर्सियल फिल्म निर्देशन गर्ने सुर गर्दा लय विगारेका थिए । अहिले, उनी ‘आमा’बाट सोही लयमा फर्किएका छन् ।

दीपेन्द्र आफैले पनि फिल्म ‘पशुपति प्रसाद’ हेरेर तृप्त बनेका दर्शकका लागि ‘आमा’ अर्को मन छुने फिल्म हुने बताइसकेका छन् । यसैले पनि ‘आमा’को कथा र दीपेन्द्रको निर्देशनमाथि भरोसा गर्ने आधार छ । नेपाली फिल्मले आफ्नै कथा भन्न सकेको छैन । ‘आमा’को कथामा दर्शकले आफ्नोपन पाउने विश्वास गरिएको छ । फिल्म ‘आमा’ निर्देशक खनालका लागि चुनौती र अवसर दुबै हो ।