लिक्यूइड लाउञ्जमा अनिलको भ्यालेन्टाइन गीत

काठमाडौं । भ्यालेन्टाइन डेको अवसर पारेर शुक्रबार काठमाडौंको दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा गायक अनिल सिंहले आफ्नो रोमान्टिक गीतहरु प्रस्तुत गर्ने भएका छन् ।  दरबारमार्गस्थित उडल्याण्ड कम्प्लेक्समा रहेको लिक्यूइड लाउञ्जमा लिक्यूइड ब्याण्डकै संगीतकर्मीहरुको साथमा गायक अनिलले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्न लागेका हुन् ।

‘भ्यालेन्टाइन्स स्पेशल ः फिचरिङ अनिल सिंह’ शीर्षक राखिएको भ्यालेन्टाइन विशेष उक्त सांगीतिक कार्यक्रमको तयारीका लागि गायक सिंह पछिल्लो एक सातादेखि ब्याण्डका संगीतकर्मीहरुसंग नियमित अभ्यास गरिरहेका छन् ।

लाउञ्जमा भेला हुने रोमान्टिक जोडीहरुलाई मनोरञ्जन गराउने उदेश्यले आयोजना लागिएको उक्त सांगीतिक कार्यक्रम भ्यालेन्टाइन डे अर्थात यही शुक्रवार राति ८ बजेपछि प्रँरम्भ हुनेछ । कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढि लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा गायिका सोना अमात्यले गायक सिंहलाई ‘किङ एण्ड क्विन…’ तथा ‘प्रेम कथा…’ शीर्षकका यूगल गीतमा साथ दिनेछिन् । यी दुई गीतको ओरिजिनल भर्सनमा गायक सिंहलाई अभिनेत्री रेखा थापा तथा पूजा शर्माले यूगल गायनमा साथ दिएका छन् ।  लिक्यूइड ब्याण्डमा भने सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमरं) तथा प्रविण सिंह ठकुरी (प्याडिस्ट) आवद्ध छन् ।