पुजासँग मौका माग्दै पल

काठमाडौं । आगामी फागुन ३० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सांगीतिक प्रेमकथालाई प्रस्तुत गरिएको फिल्मको ट्रेलरमा गायक पलले गायिका बन्ने सपना साचेकी पूजालाई संगीतमा लाग्ने दिने प्रेरणालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा पूजा र पलको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म सौरभ लामाले खिचेका हुन् ।

फिल्ममा समावेश पाँचवटा गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत छ । यो फिल्म दुई वर्ष अघि निर्मित सुपरहिट फिल्म ‘म यस्तो गीत गाउछु’को सिक्वेल हो । फिल्ममा पुजा शर्मा र सुदर्शन थापाको लगानी छ ।