ज्याकी भन्छन्ः ‘मलाई कोरोना छैन’

बेइजिङ(एजेन्सी) । चीनमा कोरोना भाइरसको चपेटामा परेर धेरै मानिसले ज्यान गुमाएका छन् । यो संख्या दिनानुदिन बढ्दो छ । कोरोनाको संक्रमण बढिरहँदा चीनका सुपरस्टार अभिनेता ज्याकी चेनलाई पनि कोरोनाको संक्रमण देखिएको चर्चा चल्यो । तर यी अभिनेताले सबै हल्लालाई अफवाह भन्दै आफू सुरक्षित रहेको जनाउ दिएका छन् ।

उनले आफ्नो इन्स्टाग्राममा आफू हाँस्दै गरेको तस्बिर शेयर गर्दैै आफू पूर्ण स्वस्थ रहेको उल्लेख गरेका छन् । ‘ममाथि यति धेरै चिन्ता व्यक्त भएकोमा धन्यवाद व्यक्त गर्दछु । म सुरक्षित छु र स्वस्थ पनि छु । मेरो तपाईहरुसँग यो निवेदन छ कि तपाईहरु डराउनु पर्दैन् । म क्वारेन्टाइनमा छैन । म आशा गर्छु कि तपार्ईं पनि स्वस्थ हुनुहुन्छ’, ज्याकीले इन्स्टामा लेखेका छन् ।

उनले आफूलाई फेस मास्क पठाउने फ्यानलाई पनि धन्यवाद दिएका छन् । उनले आफ्नो संस्थाका कर्मचारीलाई आफूलाई प्राप्त मास्क आवश्यक परेका व्यक्तिलाई वितरण गर्न आग्रह गरेका छन् । ६५ वर्षे अभिनेता ज्याकी हङकङका नागरिक हुन् ।

केही समय अघि मात्र बलिउड अभिनेता आमिर खानले आफ्ना चीनियाँ फ्यानलाई कोरोना भाइरसको चपेटबाट बच्नका लागि आव्हान गरेका थिए ।