हराएकी छोरी खोज्दै दयाहाङ

काठमाडौं । आगामी ७ चैतबाट रिलिज हुने फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा मंगलबार पत्रकार फूलमान बल निर्देशित फिल्मको ट्रेलर सार्वजनिक भएको हो । फागुन ३० मा रिलिज डेट तय गरेको फिल्म चैत ७ मा सारिएको हो ।

ट्रेलरमा २०७२ सालको भूकम्पपछि धादिङको रुवी भ्यालीबाट छिन्नभिन्न भएको एक परिवारले काठमाडौं आउँदा छोरी गुमाउनु परेको र त्यसपछिको संघर्षको कथा समेटिएको छ । निर्देशक बलले फिल्मले भूकम्पको समय भत्किएका मनहरुको कथा समेट्ने बताए । ‘चार वर्ष अघि विनासकारी भूकम्पको समाज, त्यो भूकम्प पीडितहरुको अहिलेसम्मको संघर्षलगायत समाजका वर्गीय संघर्षको कथा फिल्ममा देखाइएको छ’, फूलमानले भने ।

फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । अभिनेता दयाहाङ भूकम्पपछि अहिलो आफूहरुले बोनसमा जीवन पाएको दाबी गर्दै त्यो बेला आम मानिस कसरी बाँच्यौं भन्ने संघर्षको कथा फिल्ममा हेर्न पाउने बताए ।

फिल्ममा निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन् ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।