अक्षयको सूर्यवंशीले राख्यो यस्तो रेकर्ड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘सूर्यवंशी’ सन् २०२० को सर्वाधिक प्रतिक्षित फिल्म हो । यो फिल्मको ट्रेलर सोमबार सार्वजनिक भयो । ट्रेलर सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै ४ करोड २० लाख बढी दर्शक पाएको छ ।

अभिनेता अक्षयले ट्वीटरमा आफ्नो फिल्मको ट्रेलरलाई मन पराएकोमा आभार व्यक्त गरेका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्न मुम्बईमा एक कार्यक्रम आयोजना गरिएको थियो । जसमा अक्षय कुमार, कटरीना कैफ, अजय देवगन र रणवीर सिंह उपस्थित थिए । अजय र रणवीरले फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् ।

रोहित सेठ्ठीको व्यानर कोप युनिभर्सको यो फिल्म अघि रोहितले यही व्यानरमा ‘सिंघम’ र ‘सिम्बा’ लिएर दर्शकमाझ आइसकेका छन् । सिंघम सिरिजको दुई फिल्ममा अजय देवगन प्रमुख भूमिकामा थिए भने सिम्बामा रणवीर सिंह थिए ।

फिल्ममा अक्षय एटीएस चिफ वीर सूर्यवंशीको भूमिकामा छन् । जो आतंकवादका विरुद्ध लडिरहेका हुन्छन् । फिल्ममा कटरीना अक्षयकी पत्नी बनीको भूमिकामा छिन् । मार्च २४ मा रिलिज हुने फिल्म अक्षयको यो वर्षको पहिलो फिल्म हुनेछ । यो फिल्म यसअघि इदमा रिलिज हुने चर्चा चले पनि सलमान खान र सन्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ रिलिज हुने भएपछि रोहित मिति सारेका थिए । तर फिल्म ‘इन्शाअल्लाह’ निर्माण हुन सकेन ।